जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कास्की जिल्लाका पालिकाहरुका प्रमुख/अध्यक्ष, उपप्रमुख/ उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका पदाधिकारी ,कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रदेश नीति आयोगका सदस्य, गै स स का प्रतिनिधिहरु लगायतका ४० जाना को सहभागितामा भएको उक्तकार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। कास्कीका ५ वटै पालिकाहरुले गरेका असल अभ्यासहरु तथा अनुभवहरु प्रस्तुत भएको उक्त कार्यक्रममा जि.स.स. प्रमुख लिलाधर पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गर्नुभयो। पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शी र प्रभाबकारी दिगो बिकासमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य ,अन्नपूर्ण गाउँपालिकाका उप प्रमुख चन्द्रकला अधिकारी , कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, गैर सरकारी संस्था महासंघ कास्कीका सचिब केशु भुजेल सहितले आ -आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र कार्यक्रम संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।