कास्की नामाकरणका
सन्दर्भमा मतऐक्य हुन सकेको छैन। अर्थात् यस सन्दर्भमा विविध मतहरु अघि सारिएको
पाइन्छ। यसै सन्दर्भमा कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता नामक अमूल्य
आयुर्वेदिक ग्रन्थ रचना गरेका र उनैको नाम अन्ततः अपभ्रंश भई कास्यपबाट कास्की नाम
रहन गएको पहेंलो कपडा लगाउने सन्यासीहरुको बसोबास क्षेत्र हुनाले काषायकी भनिने, प्राकृतिक खनिज स्रोत पुर्ण हुनाले कोषकाष भनिने, काँसैकाँसको टार र पाटन हुनाले “काँइकी” काँझो (तामा–धातु) मिसाएर एउटा
छुट्टै धातु तयार गर्दा “कासकुट” धातु बन्ने ठाउँ हुनाले, कास्कीमा प्रसस्त
पाषाणभेद भन्ने जडिबुटी पाउने हुनाले “कास” भन्दा भन्दै कास्की नामाकरण भएकाजस्ता आधारहरु मान्न सकिन्न
भन्ने तर्क राजाराम सुवेदीको रहेको छ।
कास्कीकै नामाकरणकै
सर्न्दर्भमा तमु भाषामा “कास” भन्नाले “कछाड” “खिब” भन्नाले “लगाउने” अर्थात् “कास खिब” (कछाड लगाउनेहरु बस्ने ठाउँ) शब्दबाट कास्की नामाकरण हुन गएको
कुरा तमु बुद्घिजिवीहरु बताउँछन् भन्ने कुरा पनि उल्लेख पाइन्छ। माथि उल्लेखित
तर्कहरुका पछाडि खासै आधारभूत आधारहरु पाइदैन, अर्थात् तथ्यबाट
पुष्टि भएका छैनन्।
तर्कका लागि प्रस्तुत
गरिएका तर्ककै आधारमा मात्र यसै भन्न अप्ठ्यारो हुन्छ। कछाड लगाउनेहरुको बसोबास
स्थलको कुरा गर्दा कास्कीको उच्च पहाडी तथा डाँडा पर्वतहरुमा कछाड लगाउने जातिको
बसोबास अवश्य नै थियो। तमू भाषालाई आधार मान्ने हो भने “कासखिब” शब्दलाई अन्ततः
कास्की हुन गएको मान्नुपर्ने हुन्छ। तर, ठोस आधार विना यसै
भन्न गाह्रो छ।